ad+1


तीज विशेष सवाल-जवाफ मुक्तक दिदीको भूमिकामा सिसा थारु र भाइको भूमिकामा एस. पि. असफल …………………………………………………

एस. पि. असफल

हिक्क हिक्क गरी दिदी फोनमा रुन्छ्यौ किन ।।
यसपालिको तीजमा पनि आउन पाईन लिन ।।
अर्को सालको तीजमा छुट्टी मिलाई आउँछु
यस वर्ष त केही गर्दा पनि छुट्टि पाउँदिन ।।

सिसा थारु

रुन्छ मन एउटै भएको भाइ नि प्रदेशमा हुँदा ।।
साथैमा छौ कि झैं लाग्छ तिम्रो तस्बिर छुँदा ।।
यसपालिको तीज पनि रुँदै बित्ने भयो मेरो
आँसुले चोली भिज्छ भाइ तिमी सम्झेर रुँदा ।।

एस. पि. असफल

यसपालि नि आउन पाइन म घर ।।
के छ भान्जा भान्जी भेनाको खबर ।।
यो वर्ष नि अधुरै हुने भो मेरो चाहना
दिदी भाइ बसी मन थियो खान दर ।।

सिसा थारु

हाम्रो मात्रै धेरै चिन्ता नलिनू मेरा भाई ।।
बा-आमा बुढा छन् को आउँछ उकालो धाई ।।
भगवानको कृपाले सबैलाई ठिकै छ बाबु
अर्को सालसँगै बसी, मनाउँला तीज रमाई ।।

एस. पि. असफल

प्रवासमा हुँदा दुःखी हुन्छु चाडपर्वमा झन ।।
सँगसँगै हाँस्दै खेल्दै बितेको थियो बालापन ।।
पोहोर जस्तै यसपालिको तीजमा पनि दिदी,,
लिन आउन पाईन भनि पछुतो मानी दुख्यो मन ।।

सिसा थारु

बितेका ती दिन सम्झेर गह भरिन्छ ।।
चाडपर्वमा सधैं एक्लाएक्लै परिन्छ ।।
सँगै खेली एकै थालमा खाई हुर्कियौ
लाग्छ तिमीसँग भेट नहुँदै मरिन्छ ।।

एस. पि. असफल

बिरामी हुँदा म सँगसँगै रुन्थ्यौ मेरी दिदी ।।
केही नहोस् भनी चिन्तित हुन्थ्यौ मेरी दिदी ।।
भाइलाई डाक्टर, पाइलट बनाउने हो भन्दै
मेरो लागि नै धेरै सपना बुन्थ्यौ मेरी दिदी ।।

सिसा थारु

गरिबको सम्पत्ति भनेकै माया हो भाइ,
दुःख पिडा हाम्रो आफ्नै छायाँ हो भाइ ।
तिमी र म ता हाम्रा बा-आमाले संसार हेर्ने,,
आँखाको ज्योति दायाँ र बायाँ हो भाई ।।


एस. पि. असफल

हजुरहरुलाई छाडी परदेश आउने मन त थिएन ।।
पापी साहुको रिन, गरिबीले गाउँमा बस्न दिएन ।।
योग्यता भन्दा नातावाद र कृर्पावादले गर्दाखेरी
नेपाली सेना, पुलिसमा कतै मलाई भर्ति लिएन ।।

सिसा थारु

भाग्यमा गरिबी लेखेपछि सोचेझैं कहाँ हुन्छ ।।
तिम्रो दुःख सुनेर अभागी दिदीको मन रुन्छ ।।
सपना देख्ने अधिकार पनि छैन हामी गरिबलाई,,
भगवानले पनि धनीमानीको पुकार मात्रै सुन्छ ।।

एस. पि. असफल

थोरै होइन दिदी साठी डिग्रीको घाम छ यहाँ ।।
न त आफूले सोचे जस्तो नै काम छ यहाँ ।।
कुन बेला चक्कर लागि ढल्छन् काम गर्दागर्दै,,
न परिश्रम गरे अनुसारको नै दाम छ यहाँ ।।

सिसा थारु

न सुत्ने समय छ न माम छ भन्छौं भाइ ।।
परिश्रम अनुसारकै न दाम छ भन्छौ भाइ ।।
अझ कती दुःख गर्छौ पराई भूमिमा तिमीले
आफूले सोचे जस्तो न काम छ भन्छौ भाइ ।।

एस. पि. असफल

मध्याह्नमा तातोतातो हावा चल्दा सम्झिए ।।
चर्को घामले छेउको साथी ढल्दा सम्झिए ।।
नजाउ बिदेश भाइ भन्दै हजुरले सम्झाएको
कामबाट फर्किदा यो ज्यान गल्दा सम्झिए ।।

सिसा थारु

सबैका दाजुभाइ आए तिजमा लिन चेली ।।
गइसकेछन् माइत जेठानी बेली र चमेली ।।
एउटा भएको भाइ पनि प्रवासमा हुनाले ,,
म कान्छी बुहारी तिजमा सधैंकी अर्घेली ।।


एस. पि. असफल

म लिन नआए पनि तीजमा माईत जानू दिदी ।।
आमाले पकाएको दर मिठो मानी खानु दिदी ।।
हाम्रो देशमा अशान्ति र बेरोजगारीको मार छ,,
नआए प्रवास के गरी घर ब्यवहार धानु दिदी ।।

सिसा थारु


घरमा कुरा मिलाएर एक दिन भएपनि माईत जान्छु ।।
आमाले पकाएको दर तिमीलाई सम्झी सम्झी खान्छु ।।
आफ्नो ज्यानको ख्याल गर्नु नलिए केही चिन्ता हाम्रो,,
भान्जा भान्जी रुछन् फेरि सबैलाई साथैमा लान्छु।।


सम्पूर्ण साहित्य प्रेमि मनहरु बाट सल्लाह,सुझाव र प्रत्तिक्रियाको अपेक्षा गर्दछौ ।।।

आउँदै गरेको हिन्दू धर्मावलम्बी नारीहरुको महान पर्व हरिताँलीका तिज को सम्पुण देश विदेशमा रहनु हुने हिन्दू नारीहरु लाई अग्रिम शुभकामना ब्यक्त गर्दछौं।।
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

एस.पी.असफल
भाटखोला :९
स्याङ्जा
नेपाल हाल :बिरानो मुलुक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सीसा थारु
बिर्तामोड झापा
नेपाल

0 comments: